click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

घरजग्गा बहाल सम्झौता गर्दा ध्यान दिनुपर्ने कुराहरु (सम्झौतापत्रको नमूनासहित)

Posted by NepalSpace.com on April 1, 2021
0 Comments

यदि तपाईंले घरजग्गा भाडामा लिँदै वा दिँदै हुनुहुन्छ भने बहाल सम्झौता गर्नुपर्ने हुन्छ । बहाल सम्झौतापत्रमा लिने दिने दुबै पक्षले मञ्जुरी गरी हस्ताक्षर वा औंठाछाप लगाउनुपर्ने हुन्छ । सरकारले बनाएको घरबाहल सम्बन्धि व्यवस्थालाई पालना गरी बहाल सम्झौता गरेपछि भाडामा लिने वा दिने दुबै पक्ष ढुक्क हुन्छन्।

नेपाल कानुन आयोगको परिच्छेद ९ मा घरबहाल सम्बन्धी कानुनी मापदण्ड तोकिएको छ । घर बहालसम्बन्धि व्यवस्थाअनुसार कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम (भाडा-बहाल) लिने गरी निश्चित समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिनुलाई बहालमा दिएको मानिन्छ ।

कानुनी व्यवस्था अनुसार कसैले पनि मानव बसोबास गर्नको लागि स्वास्थ्य तथा सुरक्षाको दृष्टिले बसोबास गर्न उपयुक्त नदेखिएको घर बहालमा दिन वा लिन हुँदैन । घर बहालको अवधि समाप्त भएपछि घर बहालमा लिने वा दिने व्यक्तिहरुले सहमतिमा त्यस्तो अवधि पटक–पटक थप गर्न सक्नेछन् । 

हामी तपाईंलाई बहालको करारनामा पत्र लेख्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउँदै छौं । 

सम्झौतापत्रमा ध्यान दिनुपर्ने कुराहरु 

कुनै पनि व्यक्तिले घर बहालमा दिँदा देहायका कुराहरु खुलाई बहालमा लिने व्यक्तिगसँग लिखित सम्झौता गर्नुपर्ने हुन्छ ।

  • घर बहाल लिने र दिने व्यक्तिको तीन पुस्ते खुल्ने गरी पुरा नाम, ठेगाना, नागरिकता नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र
  • घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर
  • बहालमा लिने प्रयोजन
  • बहाल सुरु हुने मिति
  • बहाल कायम रहने अवधि
  • मासिक बहाल रकम
  • बहाल बुझाउने समय र प्रकृया
  • घरमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन आदिको महशुल बुझाउने दायित्व
  • घर बहाल कर भुक्तानी गर्ने कुरा
  • बहालमा लिएको घरको बीमा गर्नुपर्ने भए सो सम्बन्धि कुरा
  • बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा
  • बहालमा लिएको घर अन्य व्यक्तिाई बहालमा दिन पाउने वा नपाउने कुरा
  • घरको बार्षिक रुपमा बहाल रकम बढाउने वा नबढाउने, बढाउने भए यति प्रतिशतले बढाउने भनेर खुलस्त पार्ने
  • घर बहालको करारनामा गर्दा घरधनीलाई भाडावालले दिएको अग्रिम रकम खुलाएर लेख्ने
  • सम्झौता पत्रका शर्तहरु थपघट तथा संसोधन गर्नुपर्ने भएमा दुबै पक्षको आपस सहमतिमा थपघट तथा संसोधन गर्न सकिने
  • दुबै पक्ष उपयुक्त शर्त बन्देहरु परिपालना गर्ने कुरामा प्रतिबद्ध भएको उल्लेख गर्ने
  • कथंकदाचित कुनै एक पक्षले उक्त शर्त वन्देजहरु पूरा नगरी अर्को पक्षलाई मर्का पर्न गएमा मर्का पर्ने पक्षले मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ५ बमोजिम आफ्नो हक प्रचलन गराउन कानूनी मार्ग अवलम्वन गर्न सक्ने कुरामा दुवै पक्ष सहमति गर्ने 
  • सम्झौपतापत्रको अन्तिममा प्रथम पक्ष र दोस्रो पक्षको तीन पुस्ते खुल्ने गरी नाम उल्लेख गरेर हस्ताक्षर वा औंठाछाप लगाउन नभुल्ने 
  • करारका दुवै पक्षले भने बमोजिम मस्यौदा गरी कम्प्युटर टाईप गराएको ठिक छ भनेर मस्यौदाकार (करारनामा÷सम्झौतापत्र लेख्ने)ले हस्ताक्षर गर्ने

घरधनीको दायित्व

घर बहालमा दिने घरधनीको दायित्व देहाय बमोजिम हुनेछ ।
१) बहालमा बस्ने व्यक्तिलाई सम्झौता बमोजिम घर उपयोग गर्न दिनुपर्ने
२) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा उपलब्ध भएसम्म पानी तथा बिजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नुपर्ने
३) बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्ने
४) सम्झौतामा उल्लेखित अन्य कुराहरु पालना गर्ने ।

बहालमा लिने व्यक्तिको दायित्व

बहालमा लिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ ।

  • निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नुपर्ने
  • बहालमा लिएको घर आफ्नो घर सरह मानेर सरसफाई, उचितर मनासिव तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नुपर्ने 
  • आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने
  • सम्झौतामा उल्लेखित अन्य कुराहरु पालना गर्ने

बहालमा लिएको घर छाड्न सक्ने अवस्था

बहालमा लिने व्यक्तिले देहायका कुनै अवस्थामा घर बहालको अवधि समाप्त नहुँदै बहालमा लिएको घर छाड्न सक्नेछ ।

  • घरधनीले आफ्नो दायित्व पूरा नगरेमा
  • जुन प्रयोजनको लागि घर बहालमा लिएको त्यस्तो कामको लागि निजलाई घर नचाहिने भएमा
  • घरधनीले सम्झौता विपरित काम गरेमा 

घर बहालमा लिने व्यक्तिलाई हटाउन सक्ने अवस्था

देहायका कुनै अवस्थामा घरधनीले बहालमा लिने व्यक्तिलाई घरबाट हटाउन सक्नेछन् ।

  • बहालमा बस्ने व्यक्तिले सम्झौता अनुरुप आफ्नो दायित्व पुरा नगरेमा 
  • बहालमा बस्ने व्यक्तिले बहालमा लिएको घरभित्र कानूनले निषेध गरेका कसूरजन्य कुनै क्रियाकलाप गरेमा
  • घर धनी आफैलाई घर आवश्यक भएमा
  • घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नुपरेमा
  • प्राविधिक तथा स्वास्थ्यका दृष्टिले बहालमा दिएको घरमा मानिस बसोबास गर्न उपयुक्त नदेखिएमा
  • घर बहालको अवधि समाप्त भएमा
  • बहालमा बस्ने व्यक्तिले सम्झौता विपरित कुनै काम गरेमा

घर बहालको सम्झौता समाप्त भएको मानिने अवस्था

देहायको कुनै अवस्थामा घर बहालको सम्झौता समाप्त भएको मानिनेछ ।

  • बहालमा लिने व्यक्तिले घर छाडेमा
  • घरधनीले बहालमा बस्ने व्यक्तिलाई घरबाट हटाएमा
  • बहालमा लिने, दिने व्यक्तिले आपसी सहमतिमा सम्झौता रद्द गरेमा
  • घर बहालको अवधि समाप्त भएमा 

………………………………………………………………………………………………………………………

नमुना बहाल सम्झौता पत्र / घर भाडाको करारनामा

विषय ः घर भाडाको करारनामा

लिखितम् ……………………. को नाति÷नातिनी÷बुहारी …………………….. को छोरा÷छोरी÷श्रीमती, जि. ………………., ……………….. गा.वि.स.÷न.पा., वडा नं ……… बस्ने वर्ष …… को ……………………………..( जसलाई यस करारनामामा प्रथम पक्ष घर धनी भनी सम्बोधन गरिएको छ)–१, र ……………………….. को नाति÷नातिनी÷बुहारी …………………….. को छोरा÷छोरी÷श्रीमती, जि. ………………., ……………….. गा.वि.स.÷न.पा., वडा नं ……… बस्ने वर्ष …… को ……………………………..(जसलाई यस करारनामामा दोस्रो पक्ष वहालवाला भनी सम्बोधन गरिएको छ)–२, समेत हामी करारका दुई पक्ष आगे, हामी दुवै पक्ष बिच मुलुकी देवानी संहिता २०७४ को भाग ४ परिच्छेद ९ को अधिनमा रही व्यवसाय÷बसोवास प्रयोजनका लागि फ्ल्याट÷कोठा बहालमा लिने दिने विषयमा हामी दुबै पक्षको मनोमान राजी खुसी मञ्जुरीले तपशिलमा उल्लेखित शर्त वन्देजको अधिनमा रही प्रथम पक्षकै घर वैठकमा बसी यो करारनामाको कागज लेखिलेखाई सहिछाप गरी एक÷एक प्रति बुझी लियौं दियौ ।
साक्षी तपशिलका सदर ।
तपशिल
शर्त तथा वन्देजहरु ः
१. प्रथम पक्षको नाउँमा मालपोत कार्यालय ……………….. , ………………..मा एकलौटी÷संयुक्त दर्ता श्रेस्ता कायम जि. …………………. वडा नं. …………. सिट नं ………………. कि.नं. ………….. को क्षे.फ. …………. जग्गा र सोमा निर्माण भएको ………….. तल्लाको घर मध्ये …………… फ्ल्याट÷कोठा दोस्रो पक्षलाई व्यवसाय÷बसोवास गर्नको लागि भाडामा दिनुहोस भनी दोस्रो पक्षले प्रस्ताव राख्दा उक्त प्रस्ताव प्रथम पक्षले पनि स्विकार गरी उल्लेखित बमोजिम फ्ल्याट÷कोठा मासिक बहाल रकम रु ………………….।– अक्षरुपी …………………………………. रुपैयाँमा बहालमा दिन प्रथम पक्षको मञ्जुर भएको र उल्लेखित फ्ल्याट÷कोठा उल्लेखित रकममा लिन दोस्रो पक्ष पनि मञ्जुर भई हामी दुबै पक्ष बहालमा लिन दिन सहमत भएका छौ ।
२. शर्त नं १. मा उल्लेख भए बमोजिमको बहाल दोस्रो पक्षले प्रथम पक्षलाई अग्रिम ……… (………….) महिनाको भाडा ने.रु. ………………….।– अक्षरुपी …………………………………. रुपैयाँ आज करार गर्दाको समयमा बुझाएकोमा सो बापतको रकम प्रथम पक्षले बुझीलिएको छ । तत्पश्चात दोस्रो पक्षले भाडा बुझाउँदा अग्रिम ……÷…… महिनाको भाडा रकम भुक्तान गर्न मञ्जुर गर्दछ ।
३. यो करारनामाको अवधि आजको मितिबाट लागू भै ……. (……….) वर्षसम्म कायम रहनेछ । बहाल अवधि समाप्त भएपछि दुवै पक्षको आपसी सहमतिमा पुनः करार गरी बहाल अवधि थप गर्न सकिनेछ । साथै उल्लेखित बहाल रकम प्रत्येक ……. वर्षमा …..% का दरले वृद्धि हुने कुरामा दुवै पक्ष मञ्जुर गर्दछौ ।
४. उल्लेखित फ्ल्याट÷कोठामा दोस्रो पक्षले बहाल लिए पश्चात बसोवास÷व्यवसाय बाहेक अन्य कुनै गैह्रकानूनी काम कारवाही गर्न गराउन पाउने छैन, गैह्रकानूनी काम कारवाही गरे गराएमा सो कार्यको जिम्मेवारी दोस्रो पक्ष नै हुनेछ, प्रथम पक्षको कुनै दायित्व रहने छैन ।
५. उल्लेखित फ्ल्याट÷कोठामा जडित दोस्रो पक्षले प्रयोग गरेको बिजुली बत्ति र पानीको महशुल र बहाल कर समेत दोस्रो पक्षले बुझाउनु पर्नेछ ।
६. दोस्रो पक्षले उक्त फ्ल्याट÷कोठा भाडामा लिई बस्दा वा व्यवसाय संचालन गर्दा कुनै प्रकारको दैवी प्रकोप वा आकस्मिक घटनाबाट घरको भौतिक संरचना बिग्रन गएमा दोस्रो पक्ष जिम्मेवार हुने छैन तर दोस्रो पक्षको आफ्नै लापर्वाहीले कुनै क्षति हुन गएमा भने दोस्रो पक्ष स्वयं जिम्मेवार हुनेछ ।
७. उल्लेखित भाडामा लिएको फ्ल्याट÷कोठा दोस्रो पक्षले भाडाबाट छाडी जाँदा जुन स्थितीमा भाडामा लिएको हो सोही स्थितीमा मर्मत, सम्भार, रंगरोगन गरी छाडी जानुपर्नेछ ।
८. उल्लेखित भाडामा लिए दिएको फ्ल्याट÷कोठा छोड्नु छोडाउनु परेमा अग्रिम …….(………) दिन÷महिनाको अग्रिम सूचना लिएर मात्र छोड्न छोडाउन सकिनेछ ।
९. यस करारनामाका शर्तहरु थपघट तथा शंसोधन गर्नु पर्ने भएमा दुवै पक्षको आपसी सहमतिमा थपघट तथा शंसोधन गर्न सकिनेछ ।
१०. हामी दुवै पक्ष उपर्युक्त शर्त बन्देजहरु परिपालना गर्ने कुरामा प्रतिवद्ध एवं वचनवद्ध छौ। कथंकदाचित कुनै एक पक्षले उक्त शर्त वन्देजहरु पूरा नगरी अर्को पक्षलाई मर्का पर्न गएमा मर्का पर्ने पक्षले मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ५ बमोजिम आफ्नो हक प्रचलन गराउन कानूनी मार्ग अवलम्वन गर्न सक्ने कुरामा दुवै पक्ष सहमति गर्दछौ ।
११. यस करारनामामा लेखिएका कुराहरु यस बमोजिम र नलेखिएका कुराहरुमा करार ऐन, तथा अन्य प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

…………………………… ……………………………
श्री श्री
( प्रथम पक्ष) (दोस्रो पक्ष)
ना.प्र.नं. ना.प्र.नं.
मिति मिति
जि.प्र.का. जि.प्र.का.
साक्षीहरु
१. १.
२. २.
मस्यौदाकार ः करारका दुवै पक्षले भने बमोजिम मस्यौदा गरी कम्प्युटर टाईप गराएको ठिक छ भनी सहि गर्ने
ईति सम्वत् २०…… साल …………… महिना ……. गते रोज …….. शुभम्

…………………………………………………………………………………………….

Leave a Reply

Your email address will not be published.

Compare Propertiess