click to enable zoom
loading...
We didn't find any results
open map
View
Roadmap Satellite Hybrid Terrain
My Location Fullscreen Prev Next

Advanced Search

Your search results

निर्माणमा निगरानी

Posted by NepalSpace.com on April 4, 2021
0 Comments

कुनै पनि ठाउँको पहिचान हो,घर । सबै ठाउँमा एकै डिजाइनको घर बनाउँदा पक्कै पनि राम्रो देखिँदैन । किनभने घरले त्यस ठाउँको विशेषतासमेत झल्काउँछ । आर्किटेक्ट इन्जिनियर बाबुराम भट्टराई भन्छन्, ‘घरसँग त्यस ठाउँको संस्कृति गाँसिएको हुन्छ ।’ जस्तो, भक्तपुरमा परम्परागत शैलीको नेवारी संस्कृति झल्कने घर बनाइएको छ । कालीगढहरूले बुट्टा भरेको आकर्षक काठका थामहरू प्रयोग गरेका छन् । पोखरा वरपर क्षेत्रमा ढुंगाको छाना देख्न सकिन्छ । हिमाल, पहाड र तराईमा बनाइने घर फरक हुन्छन् । हिमालमा धेरै चिसो र हिउँ पर्ने भएकाले होचो एवं न्यानो हुने खालको घरको डिजाइन गर्नुपर्छ । त्यस्तै, तराईमा गर्मी धेरै हुने भएकाले हावा ओहोरदोहोर हुने र शीतल महसुस गराउने खालको हुनुपर्छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यापक बाबुराम भन्छन्, ‘घर बनाउँदा स्थानीय स्रोत र साधनको प्रयोगलाई जोड दिनुपर्छ । यसो गर्दा घर निर्माण खर्चिलो हुँदैन ।’ यसरी निर्माण गरेको घर पूर्णतः सुरक्षित हुने उनको तर्क छ । घर निर्माणसँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रही बाबुरामसँग गरिएको कुराकानीको सम्पादित अंश–

घर निर्माणका क्रममा आर्किटेक्ट इन्जिनियरले निगरानी गर्नु जरुरी हुन्छ ?

निगरानी जरुरी हुन्छ । निर्माण गर्दा प्राविधिक कुन कुरा पुगेको छ/छैन, निर्माण सामग्रीको गुणस्तर कस्तो छ भनेर हेर्नुपर्छ । स–साना कुरा विस्तृत रूपमा हेर्नुपर्छ । एउटा इन्जिनियरले बनाएको डिजाइनअनुसारको घर निर्माण भइरहेको छ/छैन भनेर पनि हेर्नुपर्छ । साथै निर्माणमा सही प्रविधि अपनाउनुपर्ने हुन्छ ।

सानो क्षेत्रफलमा घर बनाउँदा के कुरामा ध्यान दिनुपर्छ ?

घरको मोहडा कता फर्काउने, वरिपरिको घर कस्तो छ ? अरूको घरको साइज कत्रो छ, सम्भावना कस्तो छ, वरिपरि के–के छ ? जस्ता कुरामा ध्यान दिनुपर्छ । त्यस्तै, आधारभूत कुराहरूमा पानीको ट्याङ्की कहाँ राख्ने, पार्किङ, ढल आदि पनि हेर्नुपर्छ । जग्गा कतातिर फर्केको छ, घरको कोठा कतातिर फर्काउने, झ्याल–ढोका कतातिर बनाउने ? पनि हेर्न जरुरी छ । अहिले घर बनाउँदा धेरैले वास्तुअनुसार बनाउन चाहन्छन् । त्यो पनि मिलाउनुपर्छ । शयन कक्ष, स्नान घर, हात धुने बेसिन कतातिर राख्ने, घरको ले–आउटदेखि इन्टेरियरको कुरा सबै हेर्नुपर्छ । नगरपालिकाको मापदण्डलाई पनि फलो गर्नुपर्छ । बाटो कति छोड्ने, कत्ति तल्ला बनाउने यी सबै मापदण्ड पुर्‍याएर घर निर्माण गर्न प्रेरित गर्नुपर्छ ।

घरको आर्किटेक्ट डिजाइन गराउँदा के कुरालाई महत्व दिनुपर्छ ?

घर निर्माण गर्दा गुणस्तरीय निर्माण सामग्रीदेखि इन्टेरियरसम्मको कुरा आउँछ । आर्किटेक्ट इन्जिनियरले घरको नक्सा तयार गर्नेदेखि निर्माण सामग्रीहरूसम्म सबै कुरामा उत्तिकै ध्यान दिनुपर्छ ।

घरको बैठक, भान्सा, बेडरुमको डिजाइन गराउँदा के–के कुरामा ध्यान दिनुपर्छ ?

यी सबै घरको शोभा बढाउने ठाउँ हुन् । यी ठाउँको डिजाइन गर्दा आकर्षक त छँदैछ त्यससँगै सहजताको ख्याल पनि गर्नुपर्ने हुन्छ । कस्तो रंग लगाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । मास्टर बेडरुममा प्राइभेसीको कुरा आउन सक्छ, फर्निचर कस्तो चयन गर्ने, कता फर्काएर राख्ने त्यहीअनुसारको कोठाको डिजाइन गर्नुपर्छ । घरको डिजाइन भनेको ग्राहकको आवश्यकता र हामीबीचको समझदारी हो । अर्को महत्वपूर्ण कुरा भनेको पर्यावरणीय हिसाबले पनि घर डिजाइन गर्नुपर्ने हुन्छ । बाछिटाले भेट्छ कि भेट्दैन वा कतापट्टिबाट भेट्छ, घाम कतापट्टि लाग्छन्, घाम चाहिने बेला घाम लाग्ने र गर्मीमा घाम छेकिने कुरामा ध्यान दिनुपर्छ । स्वस्थ घरका लागि सम्भव भएसम्म हरेक कोठामा क्रस भेन्टिलेसन राख्नुपर्छ ।

बलियो र आकर्षक घर बनाउन कस्तो विधि अपनाउनुपर्छ ?

घर बनाउँदा आधारभूत कुरा भनेको आकर्षण नै हो । २० देखि २५ प्रतिशत चाहिँ घर कसरी राम्रो बनाउने भन्ने हुन्छ । अर्को कुरा उपयोगिता पनि हेर्नुपर्छ । ठाउँ सुहाउँदो घर हुनुपर्छ । घर निर्माण गर्दा त्यो ठाउँको माटो सुहाउँदो हुनुपर्छ । यस्तो घरको धेरै फाइदा हुन्छ । स्थानीय स्रोत र साधनबाट बनाइएको घर सुरक्षितमात्र हुँदैन, स्वास्थ्य तथा वातावरणमैत्री, कम खर्चमै बनाउन सकिन्छ । यस्तो घर लामो समयसम्म टिक्छ । साथै त्यो ठाउँको विशेषता पनि झल्कन्छ । किनभने घर भनेको पहिचान पनि हो । घरसँग त्यस ठाउँको संस्कृति गाँसिएको छ ।

घरलाई सुविधायुक्त, बालमैत्री बनाउन के कुरामा जोड दिनुपर्छ ?

भर्‍याङ उक्लन सजिलो र सुरक्षित बनाउनुपर्छ । ढोकाको चुकुल लगाएर खोल्न सजिलो खालको हुनुपर्छ । बार्दली वा छत सुरक्षित बनाउनुपर्छ । खेल्नका लागि खुल्ला ठाउँ छोडिदिनुपर्छ । भान्साकोठाको डिजाइन बालबालिकाका लागि सुरक्षित र सहज हुनुपर्छ ।

पछिल्लो समय कस्तो डिजाइनको घर चलेको छ ?

पछिल्लो समय काठमाडौंमा घरको डिजाइन मोर्डन र पोस्ट मोर्डन चल्तीमा छ । यहाँको परम्परागत शैलीको घर हराउँदै गइसक्यो । यहाँ सबै ठाउँका मानिसले बसोबास गर्ने भएकाले सबै प्रकारका घर बनाएको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.

Compare Propertiess