कोरोनाको त्रासले अर्थतन्त्र ओरालो लाग्दै
नेपालको अर्थतन्त्रको आकार सानो छ। तर कोरोनाबाट अतिप्रभावित चीनलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्धका कारण नेपालको आर्थिक वृद्धिदरमा पनि असर पर्ने देखिएको हो।
चालु आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्य छ। सरकारले सोचेजस्तो आर्थिक गतिविधि नबढेका कारण वृद्धिदर ६ प्रतिशत हाराहारीमा खुम्चिने अनुमान यसअघि नै गरिएको थियो। कोरोनाका कारण गैरकृषि क्षेत्रमा पर्ने प्रभावले आर्थिक वृद्धि घट्ने देखिएको हो। नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा गैरकृषि क्षेत्रको अंश ७३ प्रतिशत छ।
अर्थ मन्त्रालयका अधिकारी यो समस्या लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल पुग्ने अनुमान गर्छन्। यो वर्ष कृषि क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा रहेको धान उत्पादन घटेको छ। अन्य मौसमी कृषि उत्पादन पनि धेरै बढ्न नसकेको अवस्था छ।
यस्तो अवस्थामा कोरोनाको समस्या लम्बिंदै गए गैरकृषि क्षेत्रमा हुने गडबडीले आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल झर्ने छ। केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा थप असर पर्न थालिसकेको जानकारी दिए। कोरोनाको प्रत्यक्ष असर कृषि बाहेक सबै क्षेत्रमा कम बेसी पर्न सुरु भैसकेको छ। अहिलेसम्म कोरोनाले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा देखिएको छ। जनवरीमा २ प्रतिशतभन्दा बढीले पर्यटक घटेका छन्।
यो तथ्यांक फेब्रुअरीमा झनै घटेको छ। अहिले मुलुकका प्रमुख पर्यटकीय क्षेत्र सुनसान छन्। स्तरीय होटलको अकुपेन्सी दरमा ८० प्रतिशतसम्म कमी आएको छ। चितवन सौराहाका कतिपय होटलले पर्यटक नआएपछि कर्मचारीलाई बिदा दिएका छन्। कतिपय वायुसेवा कम्पनीले उडान तालिका कटौती गरेका छन्।
सरकारले कोरोना बढी प्रभावित जापान, कोरिया, इटाली, इरानजस्ता मुलुकका नागरिकलाई आगमन भिसा नदिने भनेको छ। नेपालीलाई पनि अतिआवश्यक बाहेकका स्थान नजान र वैदेशिक भ्रमणमा नजान भनेको छ। सरकारले चीनसँगका सबै व्यापारिक नाका बन्द गरेको छ। चीनसँगको आयात निर्यात पनि ठप्प छ।
-malpotkhabar
